रत्नपार्क कर्नरको एउटा सपना

/
0 Comments


सपनाको कुनै आकार हुदैन । हुने भए, सपनाको आकार जस्तै चकलेट, विस्कुट, ललिपप वा अरु धेरै कुराको बजारिकरण भईसकेको हुन्थ्यो । मान्छेले सपना कहिलेदेखी देख्छ, कहिलेदेखी सम्झन्छ र कहीलेदेखी सपनाहरुले नै मान्छेलाई सताउन थाल्छ ? मलाई थाह छैन । सपना देख्न उमेर चाहिदैन, राम्रो ओछ्यान पनि चाहिदैन, मिठो खानेकुरा पनि चाहिदैन । जस्तो भएपनि, जहां भएपनि सपना देखिन्छ ।

झण्डै ५ वर्षअघी मैले यो फोटो खिचेको हुं । घुर्मैलो गोधुलीमा रत्नपार्ककको डिलमा एकजोर सेकेण्डह्याण्ड जुत्ता किन्न म गोजीमा दुई सय बोकेर हिडेको थिए । पत्रकारिताको भूत म मा यसरी जागिसकेको थियो कि, सुत्नेबेला बाहेक हरदम म क्याननको डल्ले क्यामेरा बोकी हिडथे । त्यही बेला हो, मैले यो फोटो खिचेको । मैले त्यो फुच्चेको नाम सोधीन, घर सोधीन र उमेर पनि । उसलाई चिनाउनका लागी चाहिने केही कुरा पनि मैले सोधीन । शहरमा धेरै मान्छे यस्ता हुन्छन, जसको चिनाउनका लागी नाम बाहेक केही हुदैन । उसको पनि थिएन क्यार । भएको हुंदो हो त, फुटपाथमा सिरक र डसनाको पसलमा उ कहां हुन्थ्यो र । यसरी सडकका गल्लीमा व्यापार गर्ने, कुदीरहेका बसको झ्याल पक्रेर काक्रो, बदाम र खिच्रीमिच्री बेच्ने केटाकेटीहरु मैले धेरै देखेको छु । तिनको आंखा हतारमा पढेको छु ।


मेरो क्यामेरा कैद भएको केटो मग्न भएर पढिरहेको थियो । कोही ग्राहक आईदेला र उसको पढाई विथोलिदेला भनेर मैले त्यतिबेला खुबै चिन्ता मानेको थिए । तर त्यस्तो चिन्ता उसकै निम्ती पि्रतीकर थिएन । कोही आएर केही नकिनिदिएसम्म उसलाई नाफा हुदैनथ्यो र उसको गास चल्दैनथ्यो ।

बजार किन्ने र बेच्नेहरुको दोभान हो । यो दोभानमा खाली क्रय र विक्रयको मात्रै लेखाजोखा हुदैन । तर तस्विरमा कैद भएको केटो सिरक र सिरानी त बेचीरहेको थियो नै, संगसंगै आफ्ना सपनाहरु पनि हुकाईरहेको थियो । हो, सपना देख्न कुनै फुलबारी चाहिदैन ।

५ वर्षपछी ल्यापटपमा यो तस्विर फेला पार्दा म फेरी रत्नपार्ककै गल्लीमा पुगे । रत्नपार्क यो बिचमा धेरै बदलीसकेको छ । उतिबेला मैले त्यो केटोको नाम किन सोधीन होला ? ठेगाना किन सोधीन होला र उसका रहर र सपनाहरुको बारेमा किन सोधीन होला ? सोधेको भय सायद उ अहिलेसम्म मेरो स्मृतीमा यसरी अटाउथ्यो की अटाउदैनथ्यो होला ?



You may also like

Powered by Blogger.

.

.

.

.